समाचार

विग्रहमा जाने कि सहमतिमा ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७२ चैत २८ आइतबार | ०९:५१

- सन्तोष मेहता

विग्रहमा जाने कि सहमतिमा ?
दुर्भाग्यवश पछिल्लो नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएको छ । पछिल्लो लामो मधेश आन्दोलन र राज्यपक्षले त्यसलाई गरेको बेवास्ताका कारण नेपाली समाज नै दुई ध्रुवमा विभाजित हुने खतरा उत्पन्न भएको छ । यो विभाजन र तनावको मूल कारण बनेको छ संघीयतामा सीमांकन र यसको निर्णय गर्ने विधि । सत्तापक्ष संविधानसभाको स्वरूप पहिले भन्दा फरक रहेकोले नयाँ विन्यास अनुरूप गणितकै गर्भबाट अस्वस्थ्य संविधान जन्माएका छन् । मधेशी मोर्चालगायत पहिचानवादी दलहरू विगतमा भएका सम्झौता अनुरूप एवं अन्तरिम संविधानको भावनाअनुरूप सहमतिको गर्भबाट मात्र स्वस्थ संविधान जन्मिन सक्ने अवस्था प्रशस्त हुँदाहुँदै पनि अपाङ्ग, अस्वस्थ संविधान जबरजस्ती मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, महिला, दलित उपर लादेका छन् । तनावको चुरो यहि हो । 
मधेशी मोर्चालगायत पहिचानवादी दलहरूले सहमतिको निम्ति संघर्षको कार्यक्रमहरू घोषणा गरे लगत्तै सत्तापक्षले पनि उक्त संघर्ष फितलो हुने गरी प्रतिसंघर्षका कार्यक्रमहरू गर्दै अन्ततः संसारमा विरलै भएको मधेशी–थारू जनताको शान्तिपूर्ण अहिंसात्मक संघर्षलाई बेवास्ता गरी लोकतन्त्रको सामान्य मूल्यमान्यताको समेत धज्जीया उडाइदिएको छ । जुन विषय लोकतान्त्रिक विश्वकै निम्ति ठूलो प्रश्न हो । दुवै पक्षहरू संघर्ष, भण्डारफोर एवंम् प्रतिकार र भिडन्तको नीतिमा अगाडि बढेको हुनाले राजनीतिक प्रकृयालाई गतिहिन र तनावपूर्ण बनाइदिएको छ । संसारमा कतै पनि आन्दोलनरत् जनताको प्रतिकारमा राज्यपक्ष यसरी निर्लज्ज तरिकाले उभिएको थिएन होला । 
क. राजनीतिक टकरावको चुरो ः 
नेपालमा करिब एक सय पच्चिस जातजाति र भाषाभाषी भए पनि मूलतः तिनीहरूलाई चार वटा प्रजातीय समूहमा विभाजित गर्न सकिन्छ । ती हुन् पहाडी (खस) आर्य, मैदानी आर्य–अनार्य, पहाडी तिब्बती–वर्मेली एवम् किराँत–मङगोल र मैदानी अष्ट्रो–ड्रविड । भौगोलिक रूपले हिमाल, पहाड र तराई तीनवटा भौगोलिक क्षेत्रमा पनि हावापानी, वातावरणले गर्दा फरक–फरक संस्कृतिको निर्माण हुन गएको छ । जसले उल्लेखित चारवटै प्रजातिको आ–आफ्नै साझा पहिचान पनि स्थापित गरेको छ । जस्तो पहाडी तिब्बती–वर्मेली एवम् किराँत–मङगोलहरूको साझा पहिचान आदिवासी जनजातिको रूपमा स्थापित छ । पहाडी आर्यको (खस) नेपालीको रूपमा पहिचान बनेको छ । मैदानी आर्य–अनार्य (अष्ट्रो–ड्रविड र तराई जनजाति तर धेरै मात्रामा आर्य र अनार्यहरूबीच घुमिल भइसकेको) को तराईली–मधेशीको रूपमा परिचय बनेको छ । जनसंख्याको हिसाबले पनि तराईली–मधेशीको जनसंख्या ३१.७०%, पहाडी हिमाली जनजातिको २८.५% र दलित बाहेक खस आर्यको ३०.८९% रहेको छ । तीनवटै पहिचान समूहको जनसंख्या बीच पनि ठूलो भिन्नता छैन ।  
बाहुल्य, बर्चस्व र आधारभूमिको हिसाबले पनि तीनवटै पहिचान समूहको आ–आफ्नै भूगोल कायम छ । जस्तै तराइली–मधेशीको भूगोल तराई–मधेश क्षेत्र हो । पहाडी आदिवासी जनजातिको भुगोल पूर्वी र मध्यपहाडी तथा हिमाली क्षेत्र हो । खस नेपालीको आधारभूमि एवम् भूगोल पश्चिम पहाड हो । आ–आफ्नो भूगोलमा संस्कृति, मनोविज्ञान, अर्थतन्त्र, इतिहास, पीडा लगायतमा यिनीहरू बीच समानता छ । राष्ट्रियतासम्बन्धि विश्वव्यापी परिभाषाअनुसार यसरी समरूप वा साझा भूगोल, भाषा, अर्थतन्त्र, मनोविज्ञान आदी भएको जाति, समुदाय र जनजातिहरू साझा रूपमा राष्ट्र (नेशन) होे । र, तिनीहरूको भावना नै राष्ट्रियता हो । यही परिभाषाअनुसार नेपाल बहुराष्ट्रियता भएको मुलुक पनि हो । यसको अर्थ नेपालमा मुख्यतः तीन प्रकारको राष्ट्रियताको विकास भएको छ । पहाडी आदीवासी जनजातिले विकास गरेको जनजातिवाद, पहाडी आर्यहरूद्वारा विकसित  नेपालीवाद र तराई मधेशमा विकसित तराईली–मधेशवाद । मुख्यरूपमा भूगोल र सामुदायिक उत्पीडनको पीडाबाट जन्मिएको तराईली–मधेशवाद, जातीय उत्पीडनबाट जन्मिएको जनजातिवाद र राज्यको संरक्षणबाट पैदा भएको नेपालीवादको उत्पतिको स्रोत एवं आधार नै बेग्ला–बेग्लै छन् । 
 
काँग्रेस, एमाले र एमाओवादीले सक्दो थोरैे, कुनै एउटा उत्पीडित पहिचानको बाहुल्य नहुने गरी वा पहिचानलाई पूर्णरूपमा बेवास्ता गरी प्रदेश बनाउने मानसिकताबाट प्रेरित भई सीमांकन रेखा कोरेका छन् । सशस्त्र निःशस्त्र मधेशवादी दलहरू अझै पनि समग्र मधेश एक वा दुई प्रदेशको अडानमा कायमै रहेको अवस्था छ । आदिवासी जनजाति महासंघ तथा यसै आधारमा बनेका पार्टीहरू जातीय राज्यकै वकालत गरिरहेका छन् । यस पछाडीको मनोविज्ञान पनि माथी उल्लेखित तीन वटा अलग–अलग राष्ट्रियवाद नै हो । राजनैतिक दलहरूले पनि यसैलाई पछ्याइरहेका छन् । प्रादेशिक सीमांकनमा सबैभन्दा विवादित रहेको क्षेत्र झापा, मोरङ्ग, सुनसरी पहाडसँग रहनुपर्ने केपी ओली र कृष्ण सिटौलाहरूको नेतृत्वदायी अडान त्यसैगरी कैलाली, कन्चनपुर प्रति शेरबहादुर देउवाहरूको अडान तथा यी क्षेत्रहरू मधेश–थरूहटमै रहनुपर्ने मधेशवादीको अडान फरक–फरक तीन राष्ट्रियता मनोविज्ञानको दह्रो प्रमाणहरू हुन् । झापा, मोरङ, सुनसरी तथा कैलाली, कञ्चनपुरको रैथाने मधेशी–थारू एवम् तराईली जनजाति भए पनि झापा, मोरङ, सुनसरीमा खस बाहुन कैलाली, कञ्चनपुरमा खस क्षेत्रीको बाहुल्यता छ । मूलतः नेपाली कांग्रेसमा क्षेत्री जातिको प्रभाव, एमालेमा पहाडी बाहुनहरूको प्रभाव रहेको हुँदा उनीहरू यति ठूलो मधेश आन्दोलनलाई समेत बेवास्ता गरी यी पाँचवटा जिल्लाको पुनः सीमांकन गर्न तयार भएनन् र मधेशवादी दलहरू सीमांकनको अडान छाड्न पनि तयार भएनन् । यी सबै विषय राष्ट्रियताको आधारमा बनेको मनोविज्ञानसँग सम्बन्धित हुन् । कतिपयले पहाड र मधेश जोडेर प्रादेशिक सीमांकन निर्धारण गर्नुपर्ने कुरा गर्छन् । कतिपय विद्वानहरूले पहाडमा धेरै प्रदेश र मधेशमा थोरै वा एक प्रदेश वैज्ञानिक छैनन् भनेर भन्छन् । तर सीमांकनको विषयमा बहसको वास्तविक चुरो उपरोक्त विषयहरू होइनन् भन्ने कुरा ती बुझक्कीहरूले बुझेकै रहेनछन् । यद्यपी बुझ्नुपर्ने कुरा लिम्बुहरूको थातथलो रहेको पूर्वी पहाडदेखि लिएर मगर वा गुरूङ्गहरूको थातथलो रहेको पश्चिम पहाडसम्मका भूभागमा जति प्रदेश बनेपनि त्यस्ता प्रदेशहरूमा आदिवासी जनजाति महासंघको प्रभाव रहन्छ । तराई–मधेशमा जति प्रदेश बनेपनि मधेशी पार्टीहरू, थारू लगायतका जातीय संस्थाहरूको प्रभाव रहन्छ । कर्णाली क्षेत्रमा जति प्रदेश बनेपनि खसहरूको प्रभाव रहने नै भयो । यसर्थ बहसको केन्द्र बिन्दु प्रदेशको संख्या देखिए पनि सारमा तीन वटा पहिचान बीचको टकराव, द्वन्द्व र समन्वय नै हो ।  
संघीयता किन आवश्यक भयो यो अर्को मुख्य प्रश्न हो । एकात्मक देशहरू संघीयतामा तीन कारणले गएका देखिन्छन् । विकास, बहुलता वा विद्रोहलाई सम्बोधन गर्न उनीहरू संघीयतामा गएको देखिन्छ । केन्द्रिकृत प्रणालीबाट विकास कार्य कठिनाई भएको अवस्थामा अपनाईएको संघीयता प्रशासनिक संघीयता हो । जुन विकेन्द्रिकरणतिर लक्षित हुन्छ । बाहुलतालाई सम्बोधन गर्न अपनाईएको संघीयता पहिचान सहितको संघीयता हो । जुन बहुलताको व्यवस्थापनतिर लक्षित हुन्छ । जातीय, समुदायिक एवं औपनिवेशिक उत्पीडन तथा नश्ल लगायतमा आधारित गृहयुद्ध वा विद्रोह आदिलाई सम्बोधन गर्न अपनाइएको संघीयता ‘इथिनिक’ संघीयता हो । जुन अलगाव वा स्वतन्त्रतातिर लक्षित हुन्छ । सुरूवातमा मधेशवादी दल र आदिवासी जनजातिहरू इथिनिक संघीयताको बहसमा गएको पनि देखियो । वास्तविकता त के हो भने मधेशी जनता सामुदायिक एवं औपनिवेशिक उत्पीडन विरूद्ध विद्रोह नै गरेका हुन् । तर अहिले मधेशवादी मुद्दाको नेतृत्व गरिरहेका मूलधारका मधेशी मोर्चा आबद्ध दलहरू पहिचानसहितको संघीयतामा सहमत भइसकेका छन् । जुन विविधता एवं बहुलतालाई सम्बोधन गरी व्यवस्थापनतिर लक्षित रहेको देखिन्छ । तर काँग्रेस, एमाले र एमाओवादी अझै पनि प्रशासनिक संघीयताकै पक्षमा रहेको प्रष्ट भएको छ । वार्ता र सहमतिमा रहेको सकसको प्रमुख कारण यही हो । 
 
 
विगतको संविधानसभामा यी विषयहरूमा धेरै छलफल गरिएकै हो । प्रमुख राजनीतिक दलहरूबीच पनि अनेकौ छलफल, निष्कर्ष र सहमतिहरू भएका हुन् । मधेश, आदिवासी जनजाति लगायतका आन्दोलनसँग भएको सहमतिमा र विगतको संविधानसभाले संघीयतालाई पहिचानसँग जोडिएको प्रष्ट देखिन्छ । पहिचान भन्नाले मूलतः माथी उल्लेखित गरिएका तीनवटा प्रमुख पहिचान नै हुन् । यसका लागि एउटा विकल्पमा छलफल गर्दा राम्रो हुन्छ । जस्तो भेरी, कर्णाली, सेती तथा महाकाली नदीको जलाधार क्षेत्र अर्थात सुदुर पश्चिम तथा पश्चिमाञ्चल पहाडका केही जिल्लाहरू सम्मिलीत एउटा प्रदेश वने ७०% भन्दा वढी खस वाहुल्य प्रदेश नं. १ हुनेछ । 
 
तराई–मधेशमा थारू वा गैरथारू यहाँका २० जिल्लामा छरिएर बसोबास गरेको अवस्था छ । तराई–मधेशमा रहने सम्पूर्ण जाति जनजातिको उत्तर–दक्षिण प्रदेशको मनोविज्ञान नभएर पूर्व–पश्चिम प्रदेश बनाउने मनोविज्ञान रहेको छ । कृषिमा आधारित नेपालको तराई–मधेशको जीवनको रूपमा रहेको कतिपय जिल्लाको चुरे क्षेत्रसहित मैदानी भाग सम्मिलित एउटा प्रदेश ७०% भन्दा बढी तराईली–मधेशी बाहुल्य प्रदेश नं. ३ हुन सक्नेछ । जनसंख्याको हिसाबले कुनै प्रदेश अत्यन्त सानो वा ठूलो पनि हुने छैन । यसरी पहिचान र सामथ्र्यको सम्बोधन हुनेगरी नेपाललाई तत्काल तीन प्रदेशमा विभाजन गरी सहमति गर्नु सबैभन्दा उत्तम विकल्प हो ।
 
यसैगरी तीन वटा विधानसभाको निर्वाचनको मिति तय गर्न सकिन्छ । बाँकी विषयमा सहमती गरी विधानसभालाई आ–आफ्नो क्षेत्रमा एउटै वा बढी प्रदेश बनाउने हो कि, सीमांकन, नामाङ्कन जस्ता विषयहरू के गर्ने र एउटै प्रदेश भए पनि नाम कस्तो राख्ने भन्ने विवाद टुङ्गयाउन अवसर दिनुपर्छ । यसो गर्दा विगतमा भएको मधेशी, थारू, आदिवासी जनजाति आन्दोलनको भावनाअनुरूप अन्तरिम संविधानको धारा १३८ (१क) अनुकुल मधेशी तथा आदिवासी जनजातिको चाहना अनुरूपको स्वायत्त प्रदेशहरू पनि हुने र अर्को कोणबाट हेर्दा जनमतसंग्रह जस्तो पनि देखिने छ । यसले विवादहरूको छिनोफानो गर्न सहज बनाउँछ । 
 
संघीय राज्य कुनै एउटा पुस्ताको विचारले मात्र निर्धारण हुने विषय होइन । समाजको सामाजिक, आर्थिक स्थितिमा आउने परिवर्तन र राजनीतिक मूल्यको विकाससँगै प्रत्येक पछिल्लो पुस्ताले नयाँ सवालको रूपमा पूनर्मूल्यांकन गरिरहन्छन् । त्यसैले यो निरन्तरको प्रक्रिया हो । त्यसैले सुरूवातमा कम प्रदेश बनाएर बढीभन्दा बढी जनमनोकांक्षा पुरा गर्ने विधि अपनाउनु श्रेयकर हुनेछ । भविष्यमा के गर्ने अर्को पुस्ताले निर्णय गर्ने छ । विचार गर्नुपर्ने कुरा के भने आदिवासी जनजाति र मधेशीलाई बेवास्ता गरी नेपालमा बन्ने कुनै पनि संविधानको कार्यान्वयन सम्भव छैन । त्यसैगरी, केवल मधेशी वा आदिवासी जनजातिको चाहनाअनुरूप मात्रै समग्रमा नेपालको संविधान बन्नु वा कार्यान्वयन हुनु पनि सम्भव छैन । समग्रमा तीनै प्रकारको राष्ट्रियताहरूबीचको एकता र यिनीहरूको मनोविज्ञान अनुरूपको संघीयतामा सीमांकन भए मात्र राजनीतिक स्थिरता र संविधान कार्यान्वयनको अवस्था रहन्छ । राजनीतिक रूपमा काँग्रेस, एमाले, माओवादी र मधेशवादी बीचको सहमति गर्दे सामाजिक रूपमा मधेशी जनजाति र खसहरू बीच सहमति गरे मात्र हामी नेपाल बनाउन सक्छौंं । काँग्रेस–एमालेले भनेझै अहिले उनीहरू संसदीय संख्यात्मक रूपमा बलियो अवश्य छन् ।
 
सहमति नभए मधेशी मोर्चा र एमाओवादी बाहेकका उग्र शक्तिहरू सहमति प्रक्रियाभन्दा बाहिर त छँदैछन् । मधेशी मोर्चा असफल भए सीके राउतको राजनीति सफल हुन सक्छ । एमाओवादीको राजनीति असफल भए विप्लवको राजनीति सफल हुन सक्छ । यो दुवै अवस्थामा नेपालको हित र स्वार्थको रक्षा हुन त सक्दैसक्दैन झन् नेपाल नै नरहने खतरा रहनेछ । तसर्थ एमाओवादी र मधेशी मोर्चालाई प्रक्रियाभन्दा बाहिर धकेल्नु भनेको दलहरूको असफलता मात्र नभई मुलुककै समेत असफलता कहलिने छ । बाहुलतालाई स्वीकार गरी त्यसलाई व्यवस्थापन गर्ने कि अस्वीकार गरी सबै सँगै समाप्त हुने, विग्रहमा जाने कि सहमतिमा ? नेताहरूका अगाडि अन्य विकल्पहरू छैनन् । (मेहता सद्भावना पार्टीका राष्ट्रिय प्रवक्ता हुन् ।)  

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...